FAQs Complain Problems

संक्षिप्त परिचय

नगर परिचयः-

राजधानी काठमाण्डौंको उत्तर पूर्वमा अवस्थित यस नगरपालिका वि.सं. २०७१ मार्ग १६ गते  नेपाल सरकार मन्त्री परिषद्को निर्णयद्धारा गोठाटार, मूलपानी, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गा.वि.स.लाई मिलाएर गठन गरिएको हो । यस नगरपालिकाको पूर्वमा शंखरापुर नगरपालिका र भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका‚ पश्चिममा काठमाण्डौं महानगपालिका वडा नं ३५ र गोकर्णेश्वर नगरपालिका‚ उत्तरमा सिन्धुपाल्चोक जिल्ला पर्दछ भने दक्षिणमा मध्यपुरथिमी नगरपालिका पर्दछ । हाल १३ वडामा विभाजित रहेको यस नगरपालिकाको २७.६ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । यस नगरपालिका उपत्यकाको अत्यन्तै उर्वर कृषि क्षेत्र भएको नगरपालिका हो । पूर्व तर्फको मनहरा फाँट र पश्चिम तर्फको बागमती फाँट कृषि उपज उत्पादनका लागि प्रसिद्ध छन् । यहाँ आलु, गोलभेडा‚ मौसमी तथा बेमौसमी तरकारी धान, गहुँ पर्याप्त मात्रमा उत्पादन हुन्छ । नगरपालिका भित्र पर्ने गागल र शिवपुरी लेकको केही भाग काठमाण्डौंको खानेपानीको मूलश्रोत भित्र पर्दछ। समशितोष्ण हावापानी भएको यस नगरपालिकाको ‌औसत वर्षा १२५ मिलिमिटरसम्म रहेको पाईन्छ । कागेश्वरी मनहरा नगरपालिका भित्र बग्ने मूख्य नदीमा बागमती  र मनहरा  भएता पनि यी नदीका अन्य सहायक नदीहरुमा काभ्रे खोला, झरुवा खोला, ढकाल खोला, कागेश्वरी खोला, घट्टे खोला, महादेव खोला लगायत अन्य नियमित पानी बग्ने खोला खोल्सीहरु पर्दछन् । कुनै समयमा ठूल्ठुला राजकुलाहरु सञ्चालन भई हिउँद वर्षादमा पानी लाग्ने मनहरा फाँट, बागमती फाँट अहिले सिंचाई सुविधाबाट बन्चित हुन पुगेता पनि केही भागमा भने सिंचाई पुगेको देखिन्छ । अव्यवस्थित वसोवास र नयाँ आवास क्षेत्र विस्तारले मनहरा र बागमती किनारमा रहेको उर्वर जग्गा घनावस्तीका रुपमा परिणत भई शहरीकरण तर्फ विस्तार हुँदै गएको देखिन्छ।

 

यस नगरपालिकाको मुख्य धार्मिक तथा ऐतिहाँसिक स्थलहरुमा कागेश्वरी मन्दिर, चम्पक विनायक मन्दिर, काष्ठभैरव, सोमतिर्थ गीता मन्दिर‚ तेज विनायक, महाँकाल भैरव, थली बालकुमारी  रहेका छन् । हाल कृष्ण प्रणामीहरु द्धारा निर्मित नवतमपुरीधाम आन्तरिक तथा वाह्य धार्मिक पर्यटकको लागि संझन योग्य स्थानको रुपमा विकास भईरहेको छ । औसत फराकिलो जमिन‚ जनघनत्व धेरै नभएको र प्राकृतिक हरियाली युक्त भएकोले उपत्यका भित्रका अन्य नगरपालिका भन्दा यो नगरपालिका समुन्नत देखिन्छ ।

 

यस नगरपालिकाको नामांकन साविक गागलफेदी गा.वि.स.र हालको वडा नं १ मा अवस्थित ऐतिहासिक धार्मिक कागेश्वरी महादेवको मन्दिर र  मनहरा नदीको नामले कागेश्वरी मनहरा रहन गएको व्यहोरा यहाँहरुलाई स्मरण गराउन चाहन्छु ।