समाचार

संक्षिप्त परिचय

राजधानी काठमाण्डौंको उत्तर पूर्वमा अवस्थित यस नगरपालिका वि.सं. २०७१ मार्ग १६ गते नेपाल सरकार मन्त्री परिषद्को निर्णयद्वारा गोठाटार, मूलपानी, डाँछी, भद्रवास, आलापोट र गागलफेदी गा.वि.स.लाई मिलाएर गठन गरिएको थियो । यस नगरपालिकाको नामांकन साविक गागलफेदी गा.वि.स. हालको वडा नं १ मा अवस्थित ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेवको मन्दिर र मनहरा नदीको नामले कागेश्वरी मनहरा रहन गएको हो।वि.सं.२०७३ फाल्गुन २२ गते नेपाल सरकार मन्त्री परिषद्को निर्णय अनुसार हाल यस नगरपालिकामा ९ वटा वडाहरु रहेका छन् । यस नगरपालिका उपत्यकाको अत्यन्तै उर्वर कृषि क्षेत्र भएको नगरपालिका हो । पूर्व तर्फको मनहरा फाँट र पश्चिम तर्फको बागमती फाँट कृषि उपज उत्पादनका लागि प्रसिद्ध छन् । यहाँ आलु, गोलभेडा‚ मौसमी तथा बेमौसमी तरकारी धान, गहुँ पर्याप्त मात्रामा उत्पादन हुन्छ । नगरपालिका भित्र पर्ने गागल र शिवपुरी लेकको केही भाग काठमाण्डौंको खानेपानीको मूलश्रोत भित्र पर्दछ । समशितोष्ण हावापानी भएको यस नगरपालिकाको ‌औसत वर्षा १२५ मिलिमिटरसम्म रहेको पाईन्छ । कागेश्वरी मनहरा नगरपालिका भित्र बग्ने मूख्य नदीमा बागमती र मनहरा भएता पनि यी नदीका अलवा अन्य सहायक नदीहरुमा काभ्रे खोला, झरुवा खोला, ढकाल खोला, कागेश्वरी खोला, घट्टे खोला, महादेव खोला लगायत अन्य नियमित पानी बग्ने खोला खोल्सीहरु पर्दछन् । कुनै समयमा ठूल्ठुला राजकुलाहरु सञ्चालन भई हिउँद वर्षादमा पानी लाग्ने मनहरा फाँट, बागमती फाँट अहिले सिंचाई सुविधाबाट बन्चित हुन पुगेता पनि केही भागमा भने सिंचाई पुगेको देखिन्छ । अव्यवस्थित वसोवास र नयाँ आवास क्षेत्र विस्तारले मनहरा र बागमती किनारमा रहेको उर्वर जग्गा घनावस्तीका रुपमा परिणत भई शहरीकरण तर्फ विस्तार हुँदै गएको देखिन्छ । यस नगरपालिकाको मुख्य धार्मिक तथा ऐतिहाँसिक स्थलहरुमा कागेश्वरी मन्दिर, चम्पक विनायक मन्दिर, काष्ठभैरव, सोमतिर्थ गीता मन्दिर‚ तेज विनायक, महाँकाल भैरव, थली बालकुमारी रहेका छन् । हाल कृष्ण प्रणामीहरु द्धारा निर्मित नवतमपुरीधाम आन्तरिक तथा वाह्य धार्मिक पर्यटकको लागि संझन योग्य स्थानको रुपमा विकास भईरहेको छ साथै औसत फराकिलो जमिन‚ जनघनत्व धेरै नभएको र प्राकृतिक हरियाली युक्त भएकोले उपत्यका भित्रका अन्य नगरपालिका भन्दा यो नगरपालिका समुन्नत देखिन्छ । नेपालको नक्सा जस्तो आकारमा रहि उत्तर दक्षिण भई फैलिएको यस नगरपालिकाको वडा नं.१ देखि ९सम्मको आर्थिक सामाजिक साँस्कृतिक भौगोलिक अवस्थितिमा विविधता रहेको छ । प्राकृतिक सौन्दर्यताले भरिएको साथै नेपालकै त्रेता यूगको स्मरण गराउने राम जानकी मन्दिर यसै नगरपालिकाको वडा नं. १ गागलफेदीमा निर्मित भएको छ ।  

भौगोलिक अवस्थिति:

प्रदेश नं.: 

पुर्व: शंखरापुर नगरपालिका, पश्चिम : काठमाडौं महानगरपालिका र गोकर्णेश्वर नगरपालिका , उत्तर: सिन्धुपाल्चोक जिल्लादक्षिण: मध्यपुरथिमी नगरपालिका

जनसंख्या: पुरुष: ३००२१, महिला: ३०२२६ (वि.सं. २०६८ जनगणना अनुसार)

जम्मा घरधुरी: १४३४०  (वि.सं. २०६८ जनगणना अनुसार)

छेत्रफल: २७.३८ वर्ग कि.मि.

साक्षरता दर:८०.९%

जम्मा वडा संख्या: ९